पहिलोपटक ‘थिंक ट्याङ्क’ खडा गर्दै एनआरएनए

क्वालालम्पुर — गैर आवासीय नेपाली संघले नेपालको सामाजिक र आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीहरुको भूमीकामा जोड दिंदै विकास–नीति तथा अध्ययन संस्था अर्थात् ‘थिंक ट्याङ्क’ को स्थापना गर्न लागेको छ ।

‘नेपाल पोलिसी इन्स्टिच्युट’ (एनपीआई) नाम दिइएको प्रस्तावित उक्त संस्थाले मुलुकको विकास नीति निर्माण र तिनका कार्यान्वयनका लागि विस्तृत खाकासहितको प्रस्तावनामाथि छलफल गर्न दुईदिने विज्ञ सम्मेलन आयोजना गर्न लागेको हो।

यही अक्टोबर १२ देखि १४ सम्म पहिलोपटक आयोजना गर्न लागिएको यस कार्यक्रम संघको विश्वव्यापी एउटा पहल हो। संघले विकास नीतिसम्बन्धी उक्त संस्थाका लागि खगेन्द्र ढकालको अध्यक्षतामा एक समिती र ४ भिन्नाभिन्नै विषयगत समितीहरु समेत गठन गरेको जनाइएको छ। ती समितीहरुमा विभिन्न क्षेत्रमा रहेका विज्ञहरु सम्मिलित छन्।

मुलुकका लागि विकास नीति निर्माणका सन्दर्भमा अध्ययन अनुसन्धान एवं विश्लेषण गर्न नेपालमा धेरै त्यस्ता विकास नीति–अध्ययन मामिलासम्बद्ध धेरै संस्थाहरु छन्। तर तिनको प्रभावकारी काम र सक्रियता अपेक्षाअनुसार हुन नसकेको गुनासो बेलाबखत उठ्ने गरेको छ।

त्यस्ता संस्थाहरुको विस्थापन गर्न नभई उनीहरुसँग साझेदारी गरेर मुलुकको समृद्धिका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनलाई थप मजबुत बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, दक्षता र अनुभवलाई समेटेर उक्त संस्थाको स्थापना गर्न लागिएको ढकालले बताए।

‘झण्डै १० महिनाको आन्तरिक पहलपछि हामीले पहिलोपटक यस संस्थाका लागि विज्ञ सम्मेलन आयोजना गर्न लागेका हौं,’ थाइल्याण्डको बैंककस्थित किङ मोङकुट यूनिभर्सिटी अफ् टेक्नोलोजी, नर्थ बैंककका प्राध्यापक समेत रहेका ढकालले भने, ‘यो नेपालमा रहेका अन्य कुनै थिंक ट्यांककलाई विस्तापित गर्न नभई साझेदारी र आदनप्रदानको माध्यमबाट नेपालमा नीतिगत अध्ययन अनुसन्धान, वकालत र विश्लेषण आदीलाई थप मजबुत बनाउनको लागि गर्न स्थापना गर्न लागिएको हो।’

कार्यक्रममा विकास नीतिसँग सम्बन्धित विभिन्न सरकारी तथा निजी निकाय, प्राध्यापक, विज्ञ, व्यवसायी, लगानीकर्ता, विभिन्न विश्वविद्यालयमा आबद्ध प्राज्ञ, विदेशी विज्ञ, संघमा आवद्ध पदाधिकारीहरुबीच नेपालको शिक्षा, स्वास्थ्य, सूचना–प्रविधि, लगानी, पूर्वाधार तथा सहरी विकास, जलविद्युत, कृषि पर्यटन लगायत विभिन्न विषयमा आधारित प्रस्तावनामाथि छलफल हुने बताइएको छ।

नेपालको समृद्धिका लागि विश्वभर चिनाएर स्रोत, पुंजी र विदेशमा रहेका नेपालीहरुमा रहेको अनुभव, सीप, दक्षता नेपाल भित्र्याउन पनि यो सम्मेलन अति उपयोगी हुने संघको अपेक्षा छ। ‘विभिन्न शत्रमा हुने उक्त सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको भूमिका’ विषयक प्रस्तावनामाथि हुने विस्तृत छलफलपछि प्रतिवेदन, घोषणापत्र सार्वजनिक गरिने बताइएको छ।

संघले गतवर्ष ‘भिजन २०२० एण्ड बियोण्ड’नामक एक प्रुमख विकास एजेण्डा ल्याएको थियो। संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा पारित भएको उक्त एजेण्डा संघको विगत १५ वर्षयताको इतिहासमा पहिलो भएको बताइन्छ।

हाल स्थापना गर्न लागेको थिंक ट्याङ्कले खास गरी प्रदेश स्तर एवं स्थानीय तहमा श्रम आप्रवासन, रेमीट्यान्सको प्रयोग, सामाजिक सुरक्षा, राजस्व र खर्च व्यवस्थापन, अन्तर्राष्ट्रिय लगानी, व्यापार र पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, प्राकृतिक स्रोत र आगामी ‘सन् २०३० सम्मको दिगो विकास लक्ष्य’ आदि विभिन्न विषयमा केन्द्रीत रही काम गर्ने जनाइएको छ।

संघले यसअघि नै क्षेत्रीय स्तरमा युरोप, अमेरिका र मध्यपूर्वी देशमा समेत विज्ञ सम्मेलन गरिसकेकेको छ। काठमाडौंको सम्मेलनपछि आउने प्रतिवेदनका आधारमा सरकारी अधिकारीहरुसँग छलफल एवं समन्वय गर्ने लगानी केन्द्रीत नीतिगत एवं कार्यगत योजनाअनुसार अघि बढ्ने संघको तयारी रहेको बताइएको छ।
(स्रोत:कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*